नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै देशभरको मौसममा उल्लेख्य बदलाव आएको छ।

सुदूरपश्चिम र कर्णालीका डडेलधुरा, डोटी, अछाम र बाजुरा लगायतका जिल्लाहरूबाट आज बिहानै सुरु भएको वर्षा बिस्तारै पूर्वतर्फ सर्दै हाल चितवनसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पछिल्लो तथ्याङ्क अनुसार गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा भइसकेको छ भने गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागमा अहिले पनि बदली र वर्षा जारी छ। यो मौसमी प्रणालीका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोसी र मधेस प्रदेशमा पनि आंशिक बदलीको अवस्था छ।

मौसमविद्हरूका अनुसार यो बदली र वर्षाको क्रम अझै केही दिनसम्म कायम रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।