हेटौंडा –१० बसपार्कमा रहेको फलफूल तथा तरकारी बजार हेटौंडा–१ चौकीटोल स्थित महादेव टोलमा सारिएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघसँगको समन्वयमा उक्त स्थानमा तरकारी बजार सारिएको हो । फलफूल तथा तरकारी व्यवसायी संघ र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा बजार निर्माण गरिएको हो ।
आइतबार तरकारी बजारको लागि निर्माण भएको ७३ वटा होलसेल ३३ वटा खुद्रा स्टलको उद्घाटन गर्दै उपमहानगपालिकाकी मेयर मिनाकुमारी लामाले प्रदेश स्तरीय तरकारी थोक बजार व्यवस्थापन गर्ने योजना साकार भएको बताइन् । बुधबारबाट संचालनमा आउने तरकारी बजार निर्माणमा ३ करोड ५० लाख रुपैयाँ खर्च भएकोमा हेटौंडा उपमहानगरपालिकाले ३६ लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।