मकवानपुर प्रहरीले हेटौंडामा अनलाईन मार्फत जुवा खेल्ने र खेलाउँने ११ जना पक्राउ गरेका छन् । प्रहरीले सोमबार हेटौंडा–४ स्थित कमलडाँडाको रुकमणी न्यौपानेको घरको तेस्रो र चौथो तलमा संचालित सुर्य प्रसाद टेक्नोलोजि प्रालिमा पैसाको हार जित हुने गरी अवैध रुपमा अनलाईन जुवा खेल्ने र खोलाउने ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जुवा खेलाउने प्रयोग हुने ईलोक्ट्रोनिक्स डिभाईसहरु सहित उनिहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा हेटौंडा–९ लामसुरेका २३ वर्षीय निशान आचार्य,हेटौंडा–४ कमलडाँडाका २४ वर्षीय राजिव गौतम,११ नंबर वडाका मधुकर बानिया,१४ नंबर वडा चुरीयामाईका २४ वर्षीय निमा थिङ,१२ नंबर वडाका २३ वर्षीय विकाश बल,मनहरी–४ मसिनेका २० वर्षीय जोसिल खत्री,गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ,सोही ठाउँका २० वर्षीय तिकमान तामाङ,२१ वर्षीय राजु तामाङ,२५ वर्षीय अमोश तामाङ र बारा निजगढ ४ का २० वर्षीय अर्पण खड्का रहेका छन् । उनिहरुको साथबाट १ सय १० थान मोबाईल,५ थान डेस्कटप कम्प्युटर,३ थान ल्यापटप,४ थान राउटर र नगद १ लाख ४५ हजार ७५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाए ।