स्थानीय तह निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्। बिहिबार राती सम्पन्न अन्तिम मतगाणना अनुसार उनले आफ्नो प्रतिस्पर्धिहरुलाई भारी मतले पराजित गर्दै काठमाडौँको मेयरमा निर्वाचित भएका हुन् । लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका उनले ६१ हजार ७६७ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।

उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्। सिर्जना सिंहले केशव स्थापितभन्दा २२४ मत मात्र धेरै ल्याएकी छन् । आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्। राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ७७० मत पाएका छन् भने विवेकशील साझाकी समीक्षा बास्कोटाले ६४७ मत पाएकी छन्।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्। उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाए। उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्‍ठ ९महर्जन० ले १३ हजार ६९५ मत पाएकी छन् भने राप्रपाकी बिनिता मगैयाले १२ हजार १४१ मत पाएकी छन्। त्यस्तै लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत पाएका छन्।