यातायात व्यवस्था विभागमा अहिले प्रिन्ट हुन बाँकी स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) को संख्या ५ लाखभन्दा माथि छ । ठूलो संख्यामा प्रिन्ट हुन बाँकी रहेका स्मार्ट लाइसेन्सलाई लक्षित गर्दै सरकारले करोडौं लगानीमा ‘मास प्रिन्टर’ खरिद पनि गरियो । विभागसँग यसअघि नै रहेका १० वटा ‘साना’ प्रिन्टरले ‘लोड थेग्न’ नसकेको भन्दै गत साउनमा ‘मास प्रिन्टर’ भित्र्याइएको थियो । भदौ अन्तिम सातासम्म जडान कार्य सम्पन्न गरेर मास प्रिन्टरबाटै स्मार्ट लाइसेन्स छाप्ने भनिएको थियो ।
नयाँ ल्याएको मास प्रिन्टरले प्रतिघण्टा ५ सयदेखि ६ सय (दैनिक १० हजार) सम्म स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने भनिएको थियो । तर, नयाँ ल्याइएको मेसिन जडान गरेर पनि प्रयोगमा भने ल्याइएको छैन । दैनिक १० हजार लाइसेन्स छाप्ने भनिएको मास प्रिन्टर भने अहिले बिग्रिएर थन्किएको छ ।
अहिले विभागमा ५ वटा पुरानामध्ये मुस्किलले ३ वटा मेसिनले मात्रै कार्ड प्रिन्ट गरिरहेका छन् । अन्य उपकरण बिग्रिएर थन्किएका छन् । चलेका मेसिनमा पनि पटकपटक समस्या आउने गरेको विभागले जनाएको छ । विभागको यस्तो अवस्थामा प्रक्रिया पूरा गरेका सेवाग्राहीलाई समेत लाइसेन्स प्राप्त गर्न २ वर्षसम्म लाग्ने गरेको छ । देशभरका १७ वटा यातायात कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुन्छ । सबै कार्यालयमा सेवाग्राहीको चाप रहेकाले लाइसेन्सको माग पनि ठूलो दरमा बढिरहेको छ ।