सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राई निर्वाचित भएका छन् । लौरो चुनाव चिन्हबाट मेयरको उम्मेदवार बनेका उनले २० हजार ८२१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । साम्पाङले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । किशोरले १६ हजार ५९ मत प्राप्त गर्दा नेकपा एमालेकी मन्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत ल्याइन् ।

पिउने पानीको चरम अभाव खेप्दै आएको धरानमा पानीकै मुद्दा बोकेर आधा दशकयता एक्लो अभियानमा लागेका हर्कराजलाई धरानले त्यही अभियानलाई विश्वास गर्दै अमूल्य मत दिएर जिताएका छन् । उपमेयरमा भने नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादी केन्द्रका अइन्द्र विक्रम बेधा निर्वाचित भए । उनले २० हजार ५१० मत प्राप्त गरेका छन् । बेघाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम प्रसाद लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरेका हुन् ।उपमेयरमा पनि लौरो चुनाव चिन्ह नै लिएर स्वतन्त्र उम्मेदवारी दिएका दत्त कुमार लिम्बु भने तेस्रो मत प्राप्त गरेका छन् । लिम्बुले ४ हजार १२९ मत प्राप्त गरेका हुन् ।