दोस्रो पटकको स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको १० वटै स्थानीय तहमा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ । कार्यालयका अनुसार मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । मतदान गर्न आउँदा मतदाता परिचय पत्र अथवा नेपाली नागरिकता लिएर जान निर्वाचन आयोगले आग्रह गरेको छ ।

मतदानस्तलमा फोटो खिच्न, मदिरा खाएर मतदान केन्द्रमा जान तथा नमूना मतपत्र लैजानेलगायत गतिविधि पूर्ण रुपमा प्रतिवन्ध लगाइएको जनाइएको छ ।निर्वाचनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न आयोगले जिल्लाको १ सय ६५ मतदान स्थलमा २ हजार ८ सय ३८ जना कर्मचारी खटाएको छ । जसमा १ हजार ७७० जनालाई आयोगले खटाएको हो भने १ हजार ६८ जना स्वयम् सेवकको रुपमा खटाइएको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले जिल्लाभरमा १ हजार ४ सय ७३ जना म्यादी प्रहरी, नेपाली सेना ५ सय जना, सशस्त्र प्रहरी ४ सय जना, नेपाल प्रहरी ९ सय जना खटाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।