Breaking
7 Dec 2024, Sat

कांग्रेस प्रदेश–३ बाट बाढि प्रभावितलाई सहयोग

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले असारको अन्तिम साता आएको विपद् पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । संसदीय दलको निर्णय अनुसार नेपाली कांग्रेस ३ नम्बर प्रदेशका २१ जना सांसदले पीडितहरुका लागि आफ्नो ५ दिनको सुविधाबापतको रकम सहयोग गरेका हुन् । 


सुविधाबापत प्राप्त हुने १ लाख ६० हजार रुपैँयाको चेक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेकी छिन् । चेक हस्तान्तरण गर्दै उनले सो रकम विपद् प्रभावितहरुको राहतमा सदुपयोग हुने विश्वास समेत व्यक्त गरिन् । त्यस्तै, विपदबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि प्रभावकारी ढंगले काम गर्न प्रदेश सरकारलाई कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले ज्ञापनपत्र समेत बुझाएको छ । 


बाढि, पहिरो र डुवानका मृतक परिवारलाई ३ लाख रुपैँया र भौतिक संरचना पूर्ण एवं आंशिक क्षति भएका परिवारलाई तत्काल एक लाख रुपैँया राहत उपलव्ध गराउन समेत कांग्रेसले माग गरेको छ । कांग्रेसले विपद्बाट प्रभावितहरुलाई आश्रयस्थल, खाना र लत्ताकपडाको साथै उपचारको व्यवस्था गर्न समेत माग गरेको छ । 


ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री पौडेलले कांग्रेसले गरेको काम प्रशंसनीय भएको बताए । उनले राहत रकमबारे प्रदेश सरकारले पुर्नविचार गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकार राहत, उद्धार एवं पुर्नथापनाका लागि काम गरिरहेको बताए । कार्यक्रममा कांग्रेस सांसदीय दलका सचिव निमा लामा, सांसदहरु पुकार महर्जन, सन्तबहादुर चेपाङ, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, मूख्यमन्त्रीका राजनैतिक सल्लाहकार जगन्नाथ थपलिया लगायतको उपस्थिति रहेको थियो ।

Ad
Ad