एमाले हेटौँडा उपमहानगरपालिकाको मेयर पदका उम्मेद्वार अनन्तप्रसाद पौडेलले समृद्ध हेटौँडा बनाउने योजना एमाले बाहेक अन्य दलसँग नभएको बताएका छन् । एमालेको चुनावी कार्यक्रममा बोल्दै पौडेलले आफुहरुले हेटौँडालाई देशकै नमुना नगरको रुपमा स्थापित गर्ने योजना सहित निर्वाचनमा होमिएको बताए । २०४९ सालबाट हेटौँडाले एमालेको नेतृत्व पाएको र देशकै सुन्दर नगरको रुपमा विकास भएको भन्दै उनले अब यो पटक आफुहरु विजयी भएपछि हेटौँडालाई ‘आहा’ भन्न लायक सहरको रुपमा विकसित गरिने बताए ।

हेटौँडामा एमालेको गरेको विकासबाट प्रभावित भएर निरन्तर जनताले एमालेमा मतदान गरेको भन्दै उनले गठवन्धनको नाउँमा एमालेलाई पराजित गर्ने अन्य सपनालाई आम जनताले ३० गते हेटौँडाका जनताले सपनानै बनाईदिने बताए । एमालेले जारी गरेको घोषणापत्र अनुसार पाँच वर्षभित्र समृद्ध हेटौँडा निर्माण हुने भन्दै उनले एमालेकै घोषणा ‘कपि’ गठवन्धनले लाज ढाक्ने कोशिष गरेको बताए । हेटौँडेली नागरिकको मनमा एमालेप्रति अथाह विश्वास रहेको भन्दै उनले एमालेको जित निश्चित रहेको दाबी गरे । गठवन्धन गरेर एमाले हराउँछु भन्नेहरुलाई गत स्थानीय तहको निर्वाचनमानै एमालेले गतिलो झापड हानेर देखाईदिएको बताउँदै उनले काम गर्ने पार्टीलाई गठवन्धनले कुनै असर नगर्ने दाबी गरे ।