यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सरकारी कर्मचारीहरु नै चुनावी प्रचारप्रसारमा लागेको पाईएको छ । निर्वाचन आयोगले सरकारी सेवा सुविधा लिने कर्मचारीहरुले कुनै राजनितिक दलको चुनाव प्रचारप्रसार नलाग्न भनिएपनि आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा लागेका पाईन्छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखाका कर्मचारी रमिला घलानले एमाले उम्मेदवारलाई मतदान गर्न भनी चुनावी अभियानमा लागेकी छिन् । उनी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको चुनावी प्रचारमा व्यस्त रहेकी छिन् ।

उनी सँगै वडा नम्बर ३ कार्यालयका कर्मचारी सन्जिता अधिकारी पनि वडा अध्यक्ष भागवत घिमिरेको चुनाव प्रचारप्रसारमा लागेकी छिन् । गढीका केही प्राविधिक पनि एमालेको चुनावी कार्यक्रममा हिडेको भन्दै स्थानीयले गुनासो गरेका छन् । मकवानपुरगढी मात्रै नभई हेटौंडामा पनि कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायतका सरकारी कर्मचारीहरु आचारसंहिता उल्लघन गर्दै चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् ।जिल्ला प्रशासन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीमाथि निगरानी नबढाउँदा आचारसंहिता विपरित उनीहरू चुनावी गतिविधिमा संलग्न भइरहेका छन् ।