सत्तारुढ पाँच दलिय गठबन्धनले महानगर र उपमहानगरपालिकाको बाँडफाँड बुधबार टुङ्ग्याईएको छ । गठबन्धनले हेटौंडाको मेयरमा एकिकृत समाजवादीलाई दिने सहमती गरिएको छ । हेटौंडामा नेपाली कांग्रेस मकवानपुरको संस्थापन इतर समुहले यस्तो सहमती गरिएको भन्दै विरोध जनाईरहेका छन् । विहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै इतर समूहका जिल्ला पदाधिकारी तथा पूर्वसभापतिहरुले केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे केन्द्रीय सहमति अमान्य हुने बताएका छन् । कांग्रेस मकवानपुर पदाधिकारीमा पाँचजना संस्थापन इतर समूहका छन् ।

केन्द्रले गरेको निर्णय पुनरावलोकन नगरी यथास्थितिमा निर्वाचनमा जाँदा गठबन्धनको आवश्यकता, औचित्य र मर्मविपरित परिणाम आएमा त्यसप्रति हामी र आम कांग्रेस कार्यकर्ता जिम्मेवार र जवाफदेही नहुने उपसभापति आनन्द कठायतले बताए । उनीहरुले कांग्रेसले एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी समेत दिएका छन् । कांग्रेसको तर्फबाट हेटौंडाको मेयरको उम्मेदवारमा पार्टी पूर्वसचिव आनन्दराम पराजुली र नेविसंघ पूर्वमहामन्त्री प्रभातकुमार दाहालको नाम चर्चामा थियो । नेकपा समाजवादीको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र हेटौंडाकी उपमेयर मीना लामाको नाम सिफारिस भएको छ । हेटौंडामा माओवादी केन्द्रको भने दावी गरेको छैन् ।