प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता प्रदान गरेको छ । जिल्लामा क्रियाशिल पत्रकार महिलालाई सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने भनी यहि पुष १० गते बसेको सेन्टरको बैठकको निर्णय अनुसार मंगलबार उक्त रकम प्रदान गरिएको हो । सेन्टरकी अध्यक्ष अञ्जली थापा सहितको पत्रकार टोलीले विष्टको घरमै पुगेर भत्ता सहित न्यानो कपडा र पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको हो ।

महिला पत्रकारहरु सुत्केरी अवस्थामा केहि समय काममा फर्कन नसक्ने हुँदा आर्थिक समस्या पर्ने भएकाले थोरै भएपनि सहयोग होस भन्ने उदेश्यले भत्ता उपलब्ध गराएको अध्यक्ष थापाले बताउनुभयो । सेन्टरले आगामी दिनमा जिल्लामा क्रियाशिल पत्रकार महिलाका लागि प्रभावकारी हुने खालका कार्यक्रमहरु ल्याउने उनले बताईन् । यस्तै पत्रकार महासंघ मकवानपुरले पनि सुत्केरी विष्टलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको छ । महासंघ मकवानपुरका अध्यक्ष मणीराज गौतमको नेतृत्वमा गएको महासंघ कार्यसमितीले आमा र बच्चाको सुस्वास्थ्यको कामना गरेको छ । अध्यक्ष गौतमले सुत्केरी पत्रकारलाई काममा फर्कने वातावारण निर्माणको लागि महासंघले केहि नयाँ गर्ने बताए । त्यस्तै संचारिका समूह मकवानपुरले पनि सुत्केरी विष्टलाई पोषणयुक्त खानेकुरा उपलब्ध गराएको छ । संचारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजाल र सचिव श्रीजना नेपाल सहितको टोली विष्टलाई भेट्न घर पुगेको थियो ।

सुत्केरी भत्ता तथा खाद्यान्न प्रदान गर्न पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णसारु मगर, जिल्ला उपाध्यक्ष सरला अधिकारी, सहसचिव एमपि शर्मा लगायतको टोलाी पुगेको थियो । सेन्टरको बैठकले यसअघि ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न र पत्रकार महिलालाई सुत्केरी भत्ता प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको थियो ।