बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको मिति तय भएको छ । सोमबार बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख निर्वाचन मिति तय गरेको हो । सर्वदलीय सहमति अनुसार सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते निर्वाचन गर्न दलहरु सहमत भएका हुन् ।
निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको मनोनयन दर्ता तय भएको छ । सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव प्रदेशसभा बैठकमा पेस गरेर अन्तिम रुप दिइन्छ । सभामुख र उपसभामुखको निर्वाचनपछि प्रदेश प्रमुखले सदनमा सम्बोधन गर्ने कार्यक्रम राख्ने गरी सर्वदलीय बैठकमा सहमति भएको हो ।