नेपाल पत्रकार महासंघ मकवानपुरले उद्योग संघ र मकवानपुर उद्योग वाणिज्य संघसंग समानुपातिक विज्ञापन वितरण गरिनुपर्ने विषयमा छलफल गरेको छ । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम नेतृत्वमा गएको टोलीले प्रदेश राजधानी हेटौंडामा अवस्थित राष्ट्रिय बहुराष्ट्रिय उद्योगले ठुला सञ्चार गृहलाई मात्रै विज्ञापन दिने र स्थानियस्तरमै सञ्चालित मिडियालाई विज्ञापन दिन हिच्किचाउने प्रवृत्तिको अन्त्य गरी सवैलाई समानुपातिक ढंगबाट विज्ञापन वितरण गरिनुपर्ने माग गरेका छन् । टोलीले जिल्लाका समाचार ठुला मिडियामा आउने नै जिल्लाका पत्रकारबाटै भएकाले पनि पहिलो प्राथमिकतामा यहाँका मिडियालाई दिइनुपर्ने माग राखेका हुन् ।

छलफलमा उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले उद्योगहरु पनि मिडियामैत्री हुन चाहेको बताए । त्यसका लागि पत्रकारबाट सदैब सकरात्मक समाचारको अपेक्षा उद्योग संघले गरेको उनले बताए । अध्यक्ष पोखरेलले यहाँका उद्योगले उत्पादन गरेका बस्तुको समाचार प्रकाशन प्रशारण गरिदिए त्यसले विज्ञापनको भन्दा ठुलो भूमिका खेल्ने दाबी गरे ।

यसैबिच, स्थानिय मिडियालाई समानुपातिक विज्ञापन वितरणका विषयमै मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिसंग पत्रकार महासंघ मकवानपुरले छलफल गरेको छ । छलफलमा पत्रकार महासंघले उद्योग वाणिज्य संघलाई स्थानिय मिडियालाई उत्थान गर्न विज्ञापन दिन तदारुकता देखाउन आग्रह गरेका छन् । छलफलमा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले केहि समयदेखि मिडिया र संघबीच मिडियामैत्री बातावरणमा कमी देखिएको बताए । पछिल्लो समय अनलाइन मिडिया व्यापक भैदिदाँ एउटालाई दिने र अर्कोलाई नदिने भन्ने विवाद चर्किदा विज्ञापनमा खासै जोड्न नसकिएको अध्यक्ष अग्रवालको भनाई छ । उनले एकद्वार प्रणाली भइदिए विज्ञापन बाँडफाँडमा सहजता हुने पनि बताए । छलफलले आगामी दिनमा स्थानिय मिडियालाई प्राथमिकता दिन तयार रहेको पनि उनले बताए ।