नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आज सुरु हुँदैछ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा हिजो मात्र महाधिवेशनमा रुपान्तरण गरिएको हो । महाधिवेशनको आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन हुनेछ । माओवादी स्थायी समिति बैठकले सम्मेलनलाई शनिबारमात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो । महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न बिहान ८ बजे केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

महाधिवेशनबाट अध्यक्ष बाहेकका पदाधिकारी चयन नगर्ने सम्भावना छ । महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले जानकारी दिएका छन्। नेतृत्व चयन गर्ने सम्मेलनका लागि देशभरका प्रतिनिधि राजधानी काठमाडौँ आइसकेका छन् । पदका लागि कुदाकुद नहुने सार्वजनिक अभिव्यक्ति दिए पनि पदाधिकारीमा नेताहरु आकांक्षी बढी हुँदा त्यसको व्यवस्थापनमा अध्यक्ष प्रचण्डलाई चुनौती थपिएको छ । यसअघि २०६९ माघमा मकवानपुर जिल्लाको हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने तयारी प्रचण्डले गरेका छन् ।