नेपालको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नजिक पुगेको छ । चालु आवको पहिलो तीन महिना १८ अर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण बढ्दा कुल ऋण ११ खर्ब नजिक पुगेको हो ।


महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म तीन महिनामा सरकारले कुल २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यसै अवधिमा ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ ऋण तिरेको पनि छ ।


यसअनुसार तीन महिनामा १८ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक थपिएको हो । अब नेपालको कुल सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९३ करोड पुगेको छ । कुल सार्वजनिक ऋणलाई तथ्यांक विभागले सन् २०१९ का लागि प्रक्षेपण गरेको जनसंख्या २ करोड ९७ लाख ४ हजार ५ सय १ जनालाई भाग लगाउँदा एक नेपाली बराबर ३६ हजार ५ सय २५ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।अनलाइनखबर