प्रदेश युवा परिषद्ले चार वर्षमा सफलताका साथ काम गरेको छ– चौलागाईं

अनलाइन पत्र संवाददाता२०८२-०३-०३ No Comments

हेटौंडा । बागमती प्रदेश युवा परिषद्का पहिलो कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले आफ्नो चार वर्षे कार्यकाललाई सुखद, सफल र उपलब्धिमूलक भएको बताएका छन् । उपाध्यक्ष चौलागाईले २०७९ सालमा नियुक्त भई २०८२ साल जेठ ३१ गतेसम्म कार्यभार सम्हाल्दा युवालाई राज्यसँग जोड्ने र उनीहरूलाई सशक्त बनाउने उद्देश्यमा विविध कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिएका छन्।

उनले कार्यकाल समापनको अवसरमा आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, सचिवहरू, सरोकारवाला निकाय, युवा, कर्मचारी, पत्रकारप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले भने, “जिम्मेवारी लिँदाको अन्यौलता, नीति अभावजस्ता चुनौतीका बाबजुद पनि युवाका पक्षमा सकारात्मक उपलब्धिहरू हासिल गर्न सकियो।”

उनका अनुसार कार्यकालको दौरान प्रदेश युवा नीतिको निर्माण, बहस र पैरवीमा उल्लेखनीय प्रगति भएको छ। युवालाई लोकतान्त्रिक अभ्यासमा सहभागी गराउने उद्देश्यले नमूना युवा संसद कार्यक्रम र तीनपटक आयोजना गरिएको प्रदेश युवा सम्मेलन स्मरणीय रहेको उनले बताए। सम्मेलनमार्फत प्रदेशका सबै जिल्लाका युवालाई राज्यका संरचनासँग परिचित गराउने प्रयास गरिएको थियो।

युवालाई सीपमूलक तालिम तथा स्वरोजगारको दिशातर्फ प्रेरित गर्न आर्थिक वर्ष २०८१–८२ लाई सीप वर्षका रूपमा घोषणा गर्दै करिब १० हजार युवालाई तालिम प्रदान गरिएको थियो। तीमध्ये सयौं युवा स्वरोजगार बन्न सफल भएका छन्। “स्वरोजगार बनेका प्रतिनिधि युवाको दस्तावेज तयार पारिँदैछ,” उनले भने।

महिला युवाका लागि आत्मरक्षा तालिम सञ्चालन परिषद्को अर्को उपलब्धि रहेको चौलागाईले बताए। तालिमलाई १३ वटै जिल्लामा फैलाएर प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। “यसले महिला युवाको आत्मविश्वास अभिवृद्धिमा ठूलो टेवा दिएको छ,” उनको भनाइ छ।

उनका अनुसार युवालाई कुलतबाट जोगाउँदै समाजप्रति उत्तरदायी बनाउन कार्यशाला, अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए। यस्तै, मुख्यमन्त्रीसँग युवाको प्रत्यक्ष संवाद जस्ता अभ्यासले युवालाई नीतिनिर्माण प्रक्रियामा प्रत्यक्ष सहभागी बनाउने वातावरण तयार गरेको उल्लेख छ।

प्रदेश सरकारले हालै परिषद्लाई खेलकुद परिषद्सँग गाभ्ने तयारी गरेको सन्दर्भमा उनले सुझाव दिएका छन् कि “पहिलो कार्यकालको अनुभवका आधारमा परिषद्लाई सशक्त बनाउँदै वर्तमान संरचना कायम राख्न आवश्यक छ।”

 

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad