नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यदिशामा ठूलो परिवर्तन आउने बताएका छन्। २०६९ सालमा हेटौँडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागु हुन नसकेकोले र देशभित्र भएका राजनैतिक परिवर्तनले नयाँ कार्यदिशा तय गर्न आवश्यक रहेका उनले बताए।

बिहिबार न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने दस्तावेजमा पार्टीको स्पष्ट नीति प्रस्तुत गर्ने उल्लेख गरे। अहिले नेपालको राजनीतिमा तातो विषय बनेको एमसिसीबारे संसोधन गरेर मात्र अगाडि बढ्न सकिने प्रचण्डको धारणा छ। एमसीसीकै कारण गठबन्धन टुट्ने सम्भावना नरहेको दाहालको दाबी छ। एमसीसीको केही दस्तावेजमा भएका प्रावधानले संशय पैदा गरेको भन्दै अध्यक्ष प्रचण्डले संशोधन आवश्यक रहेको जिकिर गरे।