राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश इतिहासकै कमजोर अवस्थामा पुगेको बताएका छन्। पार्टीको लुम्बिनी प्रदेश कमिटीले बिहीबार तुलसीपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्वाभिमान र आफ्नोपन हराउँदै जाँदा देश संकटको अवस्थामा पुगको बताए। कांग्रेस र कम्युनिष्टले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देशलाई विगत तीन दशकदेखि बन्धक बनाएको आरोप समेत लगाए। ‘जनतालाई कांग्रेस कम्युनिष्टले ठुला–ठुला सपना बाँडेर चुनाव जिते पनि देशमा कुनै किसिमको परिवर्तन भएन,’ उनले भने, ‘अहिलेको सत्ता साझोदार दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानाकोरुपमा विकास गरे। रोजगारीको अवसर सृजना हुनै सकेन।’

अध्यक्ष लिङ्देनले राजसंस्था फाल्नु नै गलत भएको बताए। कांग्रेस कम्युनिष्टले राजाकै कारण देश नबेनेका बताएपनि अहिले धेरै राजाहरुकै कारण देश बर्बादीमा पुगेको दावी गरे। विदेशी बैंकमा राजाले पैसा राखे भन्नेहरुले नै अहिले आफैँ पैसा राखेको उनको भनाई छ।उहिलेको राजा र अहिलेको राष्ट्रपति एउटै उस्ताउस्तै भएको बताए। राजाले एकैपटक सेवा लिने गरेको तर राष्ट्रपति ५÷५ वर्षमा परिवर्तन हुँदा झन् देशलाई आर्थिक भार थपिएको बताए।राप्रपा दाङका अध्यक्ष क्षेत्रबहादुर शाहको अध्यक्षतामा कार्यक्रम भएको हो। राप्रपाले महाधिवेशनपछि लुम्बिनी प्रदेशस्तरीय प्रथम विस्तारित बैठक तुलसीपुरमा गरेको छ।बैठक तुलसीपुरको मेट्रो होटेलमा केहिबेरअघिदेखि शुरु भएको छ। पहिलो विस्तारित बैठकमा प्रदेशमा नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गर्ने र केही महत्वपूर्ण निर्णय गर्ने राप्रपाले जनाएको छ।