मकवानपुरगढी गाउँपालिका स्तरीय महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधि जनक मा.वि.ले हात पारेको छ । मकवानपुरगढी वडा नम्बर ७ सुकौरामा रहेको जनता मा.वि.को आयोजना र मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा शनिबारबाट सुरु भएको प्रतियोगितामा आयोजक जनता मा.वि. सुकौरालाई २५–१९ , १३–२५ र १५–७ को सेटमा पराजित गर्दै जनक मा.वि. गढी–६ विजयी भएको हो ।

महिला शिक्षक भलिबल प्रतियोगितामा पालिकाभरबाट चार टिमले सहभागी जनाएको थियो । उपाधि हात पार्दै जनक मा।वि।ले नगद १० हजार शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता हुँदै जनता मा.वि. ले नगद ५ हजार , शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

समापन तथा पुरस्कार वितरण कार्यक्रम मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष सुर्य बहादुर रुम्बा र मकवानपुर जिल्ला भलिबल संघका निवर्तमान उपाध्यक्ष इन्द्र प्रसाद सन्जेल लगायतकाको उपस्थिति रहेको थियो ।