आजबाट हेटौंडामा सातौं हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हुने प्रतियोगिता आज बिहान साढे ११ बजे हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले उद्घाटन गरिनेछ । आजबाट पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १९ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक मणिराज गौतमले जानकारी दिए । प्रतियोगीतामा ४० वर्ष माथि उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने छ ।

आज बिहान हुने उद्घाटन खेल आयोजक हेटौंडा भेट्रान्स (बि) र सिमरा भेट्रान्सबीच हुनेछ । आजै हुने अर्को खेल सानो गौचरण नाइट किंग र विहानी क्लब फरेष्ट्री हेटौंडा बीच दिउँसो २ बजे हुनेछ । प्रतियोगिता हेटौंडा –५ मा रहेको क्याम्पचौरको खेल मैदानमा हुने संयोजक गौतमले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा शिल्ड,दोस्रो हुने समुहले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित शिल्ड प्राप्त गर्ने आयोजकले जनाएका छन् । खेलमा उत्कृष्ठ मिडफिल्डर,फरवार्ड, डिफेन्डर,गोलकिपर र टिम कोचलाई जनही ५ हजार नगदले पुरस्कार प्रदान गरिने भएको छ ।