स्कटल्याण्डमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ । नामिबियासँग लगातार दोस्रो हारसँगै नेपाल अंक तालिकामा छैटौं स्थानमा पुगेको छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५५ बलमा ३ चौका सहित सर्वाधिक ३८ रन बनाए ।

तीव्र गतिका बलर ज्यान फिंलिकको पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल शून्यमा रुबेन ट्रम्पलम्यानबाट क्याच भए । फ्रिंलिककै पाँचौं ओभरको तेस्रो बलमा देव खनाल डिप मिडविकेटमा बेन सिकोन्गोबाट १ रनमा क्याच आउट भए । सुरुवातमा अम्पायरले देवको उक्त बललाई छक्का दिएका थिए । तर नामिबियाका खेलाडीले फिल्डर बेनलाई सोधेपछि पछि आउट भएका थिए । हेर्दा फिल्डरले बाउन्ड्री छोएको देखिन्थ्यो ।