तामाङ पत्रकार संघ चितवनको अध्यक्षमा बबिलाल तामाङ सर्वसम्मत चयन भएका छन् । सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । संघको उपाध्यक्षमा सुनिता लामा तामाङ, सचिवमा प्रकाश तामाङ, सहसचिवमा सन्तोष तामाङ, कोषाध्यक्षमा प्रतिमा तामाङ चयन भएका छन् भने सदस्यहरुमा सन्जय तामाङ, सबिन लोप्चन तामाङ, युवक तामाङ, सिमा तामाङ, सुरेश थिङ तामाङ र प्रमिला तामाङ चयन छन् ।

कार्यक्रम पूर्व कृषि मन्त्री तथा बागमती प्रदेशका सांसद दावा दोर्जे लामाले उद्घाटन गरेका थिए । कार्यक्रममा राप्ती नगरपालिका उपमेयर इमानसिह लामा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य तथा चितवन इन्चार्ज गोमानसिंह तामाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका सहसचिव तथा तामाङ पत्रकार संघ चितवनका संस्थापक अध्यक्ष उर्गेन तामाङ लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष ज्ञानेन्द्र तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।