महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्युआर पे मार्फत् ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ ।

बिहीबार काठमाडौँमा आयोजित क्युआर पेमेन्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिवाना क्युआर पे मार्फत् तिर्नसक्ने व्यवस्थाको सुरुवात गरेको हो । महाशाखाले भोलि (शुक्रबार) बाट लागू हुने गरी कारबाहीमा परेका सवारीसाधनका चालकहरूले ट्राफिक प्रहरीको चिटमा छापिएका क्युआर कोडमार्फत् रकम भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उनका अनुसार आफूसँग सुविधा भए चिटको क्युआर कोडलाई स्क्यान गरेर कारबाहीको रकम भुक्तानी गर्न सकिन्छ । प्रमुख भट्टराईले ट्राफिक प्रहरी अब कारबाही गर्दा डकुमेन्ट नै लिनु नपर्ने प्रविधि विकास गर्न लागिरहेको बताए ।

प्रमुख भट्टराईले क्युआर कोडमार्फत् आफैँ भुक्तानी गर्न मिल्ने व्यवस्था केही दिनका लागि ग्लोबल आइएमई बैङ्कको क्युआर कोडबाट भुक्तानी गर्न सकिने र निकट भविष्यमै अन्य ५० भन्दा धेरै बैङ्क तथा प्रविधिमैत्री बन्दै गएपछि देशभरमा रहेका सबै बैङ्कबाट कारबाहीको रकम भुक्तानी गर्न सकिने बताए ।

उनले गत वर्षमा अनलाइनबाट भुक्तानीको व्यवस्था मिलाउँदा दुईवटा वालेटबाट मात्रै भुक्तानी गर्न मिल्ने व्यवस्था बनाएर सुरु गरेको स्मरण गर्दै पछि यसको व्यापकता ६०/७० को हाराहारीमा पुगेको बताए ।

प्रमुख भट्टराईले यो प्रविधिले सम्पूर्ण चालक र ट्राफिक प्रहरीलाई सहयोग पुर्‍याउने बताए । उनले ट्राफिक प्रहरीले बनाएको प्रविधितर्फ जाने योजनाले भविष्यमा अन्ततः अनलाइनबाटै सबै कुरा गर्न मिल्ने व्यवस्थामा पुग्ने बताए ।