माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन् । मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दावी रहेको प्रतिक्रिया दिएका हुन् ।

हेटौंडाको प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसदले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउन साथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दावी गर्ने स्पष्ट पारे । आगामी भदौं २३ गते त्यहाँको प्रदेश निर्वाचन कार्यालयले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने सांसदहरुको संख्या सार्वजनिक गर्नेछ ।