काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

प्रतियोगिताको लिग चरण र क्वालिफायरमा दुई पटक सुदूरपश्चिमसँग पराजित भएको जनकपुरले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ती हारको बदला लिएको छ।

१८५ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन जोडे। कप्तान आशिफ शेखले ३३ रन बनाए भने मोहम्मद मोहसिनले ९, जेम्स निसमले ४, र आकाश त्रिपाठीले २ रनमा आउट भए। हर्ष थाकर ३० रनमा र मयन यादव २ रनमा अविजित रहे। जनकपुरले पावरप्लेमा कुनै विकेट नगुमाई ७१ रन बनाएको थियो।

सुदूरका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेब, र स्कट कुग्गेलेइनले समान एक/एक विकेट लिए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १८४ रनको सम्मानजनक स्कोर बनायो।

सुदूरपश्चिमका ओपनरद्वय सैफ अलि जेब र विनोद भण्डारीले उत्कृष्ट सुरुआत गरे। उनीहरूले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे। सैफले ४३ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए। विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्कासहित ४१ रन जोडे।

सुदूरका अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। ब्राण्डन म्याकमुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन थपे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए। जिमी निशम र ललित राजवंशीले एक/एक विकेट लिए।