मकवानपुरगढी गाउँपालिकाले कृषि पेशामा उत्कृष्ट काम गरेको भन्दै ६ जना कृषकलाई पुरस्कार सहित सम्मान गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले कृषि क्षेत्रमा व्यवसायिक तरिकाले काम गरिरहेका ६ जना कृषकलाई जनही ३० हजार सहित प्रमाणपत्रले सम्मान गर्नुभएको हो । कृषि (बाली) तर्फका ३ जना र पशुपालन तथा कुखुरापालन तर्फका ३ जना कृषकलाई सम्मान गरिएको हो ।

पुरस्कार वितरण गर्दै अध्यक्ष हुमागाईले व्यवसायिक किसान तथा कृषि कर्म हेर्नको लागि टाढा टाढा जानुपरेको कुरा स्मरण गराउँदै अहिले व्यवसाय हेर्नको लागि विभिन्न ठाउँबाट यस गाउँपालिकामा किसानहरु आउँदा गर्व लाग्ने गरेको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट पशुपालन तर्फ मकवानपुरगढी वडा नम्बर ३ को श्री पिएसपि एग्रो प्रालिका संजय नेपाल , मकवानपुरगढी ४ को पाख्रीन एकीकृत कृषि तथा पशु फर्मका सुर्य बहादुर पाख्रीन र मकवानपुरगढी ७ को मखमली बाख्रा फर्मका गोकुल लम्साल पुरस्कृत हुनुभएको छ । यसैगरी कृषि ९बाली० तर्फ मकवानपुरगढी वडा नम्बर ३ को तिमल्सिना कृषि तथा फलफुल फर्मका बद्रीप्रसाद तिमल्सिना, वडा नं २ को शितल कागती कृषक समुहका वीर बहादुर स्याङ्तान र वडा नम्बर ८ को चन्द्र सुर्य कृषि तथा पशुपंछी फर्मका सुर्यमाया दोङलाई सम्मान गरिएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक विनियोजित कार्यक्रमको स्वीकृत कृषि कार्यक्रम अन्तर्गत उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्षहरु बखानसिं पाख्रीन, भागवत घिमिरे, रामप्रसाद तिमल्सिना, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायतकाको उपस्थिति रहेको थियो ।