घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । ट्रयाक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेर फरार रहेका चालक गल्याङ–८ बंग्राती बस्ने २७ वर्षीय अमित परियारलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

यही चैत ५ गते राति ८ बजेको समयमा गल्याङ–९ स्थित कालीगण्डकी नदीको साँखरघाटबाट बालुवा लिएर आउँदै गरेको ट्रयाक्टरमा रहेका तीन जनामध्ये एकजना खसेपछि सोही ट्रयाक्टरले किचेर घाइते भएका सहचालक रानालाई पुनः कालीगण्डकीमा लगेर बगाइदिएका थिए । उक्त घटनाका प्रमुख प्रतिवादी ट्रयाक्टर चालक परियार श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङले रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार पक्राउ गरेको थियो ।