सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। बालुवाटार स्रोतका अनुसार बुधबार बिहान ९ बजेबाट सुरु भएको बैठकमा गठबन्धनका शीर्ष नेताहरुको सहभागिता छ। बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ।

बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षको प्रतिनिधि पठाएका छन्। असार २९ गते नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपनि आजसम्म मन्त्रिपरिषदले पूर्णता पाएको छैन। शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको माओवादी केन्द्र पनि सरकारमा सहभागी छ। जनार्दन शर्माको नेतृत्वमा माओवादी सरकारमा सहभागी बनेको हो। तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीको विवाद सल्टिएसँगै उक्त पार्टी पनि सरकारमा सहभागी हुने तयारीमा छ।