मकवानपुरको मकवानपुरगढीमा अनुदानको मल वितरण सुरु गरेको छ । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मकवानपुरमा पहिलो पटक मकवानपुरगढी गाउँपालिकाले रासायनिक मल वितरण गर्न सुरु गरेको हो । अनुदानका मल वितरण गर्ने निर्देशिका संघीय सरकारले कार्यान्वयनमा ल्याएपछि चालु आर्थिक वर्षमा मकवानपुरगढीले मल वितरण गर्न सुरु गरेको हो ।

गाउँपालिकाले उपप्रमुखको संयोजकत्वमा रहने समिति निर्माण गरेर अनुदानको मल वितरण गर्ने १३ वटा सहकारीलाई सूचीकृत गरिसकेको मकवानपुरगढी कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिएका छन् । हालसम्म सूचीकृत भएको १३ मध्ये ५ वटा सहकारीले कृषि सामग्री कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालय हेटौंडामा सूचीकृत गराई रासायनिक मल प्राप्त गरिसकेको छ । मकवानपुरगढी गाउँपालिकाका विभिन्न सहकारी संस्थाहरुबाट रासायनिक मल ९डीएपी, युरिया र पोटास० बिक्री वितरण गर्न सुुरु भएको हो । गएको बिहीबार मकवानपुरगढीको वडा नम्बर २, ३ र ४ का तीनवटा सहकारीले कृषि सामग्री कम्पनी हेटौंडाबाट एक सय १० बोरा युरिया, ३० बोरा डीएपी र १५ बोरा पोटास लिएर बिक्री गर्न सुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए।