पार्टी विभाजनको संघारमा पुगेको सत्तारूढ नेकपाका दुई समूहले आज छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । दाहाल–नेपाल समूहले आज दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक राखेका बेला ओलीले त्यसअघि नै बिहान ९ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई आजको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न दाहाल–नेपाल समूह लागेपछि ओलीले त्यसअघि नै महत्वपूर्ण निर्णय गर्न लागेको स्रोतले जनाएको छ ।

अर्को समूहले कारबाहीको निर्णय गर्नअघि ओलीले पार्टी विभाजनको औपचारिक निर्णय वा आफू संस्थापन रहेको कानूनी उपचारको बाटोसमेत खोज्न सक्ने निकट स्रोतले जनाएको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएर पार्टी विवाद साम्य पार्न तयार रहेको सन्देश दिएको दुई दिनमै ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपा विभाजनको औपचारिक प्रक्रियामा प्रवेश गरिसकेको छ ।