मकवानपुरगढी गाउँपालिकाले शिक्षक स्वर्णिम अवकास योजना कार्यान्वयनमा ल्याउने भएको छ । गाउँपालिका कार्यालयले दोस्रो पटक सूचना जारी गर्दै इच्छुक शिक्षकहरुलाई दरखास्त पेश गर्न आह्वान गरेको हो । गाउँपालिकाले शिक्षक स्वर्णिम अवकास कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले बताए । शिक्षक स्वर्णिम अवकास कार्यक्रममा सहभागी हुन शिक्षकलाई सेवासम्बन्धी विभिन्न शर्त राखिएको उनले बताए ।

मकवानपुरगढी गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाअन्तर्गत्का विद्यालयहरुमा कार्यरत शिक्षकहरुले स्वर्णिम अवकास कार्यक्रममा सहभागी भएमा शिक्षकले विभिन्न सेवा, सुविधा पाउने र त्यसका लागि केही शर्त राखिएको घलानले बताए । उनका अनुसार ८ बर्षभन्दा बढी सेवाअवधि बाँकी भएको शिक्षकले ५ लाख प्रोत्साहन रकम पाउनेछन् । यसैगरी ५ बर्षदेखि ७ वर्षसम्म सेवाअवधि बाँकी भएका शिक्षकले ४ लाख, २ वर्षदेखि ४ बर्षसम्म सेवाअवधि बाँकी भएका शिक्षकले ३ लाख र १ बर्षदेखि २ वर्ष कम सेवाअवधि बाँकी भएका शिक्षकले २ लाख रुपैयाँ प्रोत्साहनस्वरुप पाउनेछन् । त्यसैगरी राहत शिक्षकले जुनसुकै उमेर समूहको भए पनि एकमुष्ट ३ लाख रुपैयाँ प्रोत्साहन रकम पाउनेछन् ।