बार्सिलोनालाई पराजित गरेर युभेन्टस च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह विजेता बनेको छ । समूह जी अन्तर्गत मंगलबार राति भएको खेलमा रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्टसले बार्सिलोनालाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । रोनाल्डोले दुवै गोल पेनाल्टी मार्फत गरेका हुन् । उनले १३ र ५२ औँ मिनेटमा गोल गरे । यस्तै २० औँ मिनेटमा युभेन्टसका लागि वेस्टन म्याकेनीले गोल गरे ।

रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म १३४ गोल गरेका छन् । बार्सिलोना सन् २०१६ यता पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणमा पराजित भएको हो । यो समयका विश्वका दुई उत्कृष्ट खेलाडीका रुपमा लिइने बार्सिलोनाका लियोनल मेस्सी र युभेन्टसका रोनाल्डो सन् २०१८ को मे पछि पहिलोपटक आमने सामने भएका हुन् । त्यसमा रोनाल्डोले गोल पनि गरे र टिमलाई जिताए पनि । रोनाल्डोले दुई गोल गर्दा मेसी भने युभेन्टसका ४२ वर्षे गोलरक्षक जियानलुइजी बुफोनबाट निराश भए । बुफोनले पाँचपटक सुन्दर बचाउ गरे । लिगमा बार्सिलोनलाई पछि पारेर समान १५ अंक भए पनि युभेन्टस समूह विजेता बन्यो ।