अनुमानित दुई करोड लगानीमा ‘नेपाल फिल्म अवार्ड–२०७६ घोषणा गरिएको छ । बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले ‘नेपाल फिल्म अवार्ड–२०७६ घोषणा गरेको हो ।
अवार्ड सम्पन्न गर्नका लागि दुई करोड लागत अनुमान गरिएको आयोजकले जनाएको छ । अवार्डमा पपुलरतर्फ ५ र निर्णायक अधिकारतर्फ १४ विधा रहनेछन् । यो अवार्ड दर्शकको भोटका आधारमा तय गरिनेछ । पपुलर विधा अन्तर्गत चलचित्र, अभिनेता, अभिनेत्री, महिला गायिका र पुरुष गायिका रहेका छन् । भने, बेष्ट अवार्डतर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नव–निर्देशक, नव–अभिनेता, नव–अभिनेत्री, सहायक भूमिका, सम्पादक, ध्वनी मिश्रण, पटकथा, छायाँकार, संगीतकार र आदिवासी जनजाति समावेश गरिएको आयोजकले जानकारी दिएको छ ।
नेपाली चलचित्रमा योगदान पुर्याएका व्यक्तित्वलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । हरेक अवार्ड (ट्रफी)मा ३५ तोलादेखि ५० तोलासम्म चाँदी समावेश गर्ने आयोजकले जनाएको छ । लाइफटाइम एचिभमेन्टको ट्रफीमा एक तोला सुन हुनेछ भने एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिनेछ ।
निर्णायक मण्डलमा निर्माता तथा निर्देशक आकाश अधिकारी, निर्देशक तथा कलाकार अनुप बराल, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने छन् । अवार्ड वितरण समारोहका लागि ५० लाख लागतमा सेट तयार पार्ने आयोजकको दाबी रहेको छ ।