Breaking
4 Dec 2024, Wed

‘नेकपा पाटी फुट्दैन, ५ दिनमै देख्नु हुनेछ’

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपाभित्र जस्तो खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन् । पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । एपीवान टेलिभिजनमा बुधबारबाट सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ मा अन्तर्वार्ता दिँदै नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरे ।

‘मैले कसैप्रति आरोप लगाइरहेको छैन। अस्ति पत्रकार सम्मेलन भयो। मैले कुनै जवाफ पनि दिइनँ। तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ । म चुप लागेर बसेको छु । त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ । मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलि १ भनेर गन्न सुरु गर्नुहोला।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Ad
Ad