गजल
अल्झियो भने च्यातिन सक्छ जामा बुझ्नुपर्थ्यो ।
काँडा पनि हुने गर्छन् हर बगैंचामा बुझ्नुपर्थ्यो ।।
बदल्नु पर्थ्यो कर्म, अनि पो बदलिन्थ्यो भाग्य
छन् भाग्यरेखा आफ्नै हत्केलामा बुझ्नुपर्थ्यो ।।
कोहि त थ्यो जो मेरो आँखा वरिपरि घुमिरहने
नबोलेरै पनि धेरै बोल्थे इसारामा बुझ्नुपर्थ्यो ।।
सोचेर बसियो भने त मात्रै बसिरहिन्छ पुगिन्न
हिडियो भने पो पुगिन्छ चुचुरामा बुझ्नुपर्थ्यो ।।
हारेका एकजोर आँखाले अपनत्व पाउँदैनन्
आफन्तहरु भेटिन्छन् सफलतामा बुझ्नुपर्थ्यो ।।
गंगा सापकोटा
मकवानपुरगढी गाउँपालिका ३, मकवानपुर