Comments Add Comment

नेपालको भाग्य आफ्नै हातमा

आइसिसी विश्‍व क्रिकेट लिग डिभिजन पाँचदेखि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउँदासम्म नेपाली क्रिकेटको यात्रा सिधा रेखामा हिँडेको छैन।

कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न डिभिजन पाँचअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल दर्शकले अवरुद्ध गरिदिएपछि नेपाल सिंगापुरलाई रनरेटमा पछि पार्दै डिभिजन ४ मा उक्लिएको थियो। त्यसपछि थुप्रै प्रतियोगितामा नेपाल अरुको नतिजामा भर पर्दै अगाडि बढेका उदाहरण छन्। अझ भनौं, भाग्यको भरमा।

सिंगापुरमा जारी आइसिसी ट्‍वान्टी–२० विश्वकप एसियाली छनोटको पहिलो खेलमा कतारलाई ४ विकेटको नतिजा सुम्पिएपछि नेपाली क्रिकेट टोली पुनः अन्य टोलीको नतिजामा भर परिरहेको थियो, जुन अवस्था अहिले फेरिएको छ।

प्रतियोगिता रोमाञ्‍चक मोडमा

शुक्रबार सिंगापुरले मलेसियालाई हराइदिएपछि नेपाललाई आफ्नै खेलको नतिजा काफी हुने भएको छा। तर, त्यसका लागि नेपाली टोलीलाई हार्ने छुट भने छैन।

नेपालले अब शनिबार कुवेत र अन्तिम खेल सिंगापुरविरुद्ध खेल्नेछ। ३ खेलमा २ खेल जितेको सिंगापुर ५ अंककासाथ शीर्ष स्थानमा छ। ३ खेलबाट ३ अंक जोडेको कुवेत दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा छ।

मलेसिया र कतारको सम्भावना समाप्त भइसकेको छ। सिंगापुर, कुवेत र नेपालको संघर्ष जारी छ। कुवेतले नेपाललाई हरायो भने ५ अंक हुनेछ। नेपालले अन्तिम खेलमा सिंगापुरलाई हराइदियो भने कुवेतको सम्भावना पनि जीवित बन्छ। त्यसैले प्रतियोगिता रोमाञ्‍चक मोडमा पुगेको छ। बाँकी दुवै खेल जिते नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ।

पारसको चोट

कप्तान पारस खड्काको प्रदर्शनमा नेपाली टोलीको नतिजा निर्भर रहने गरेको छ। कतारविरुद्धको पहिलो खेलमा ब्याटिङ गर्दा पारसको ढाडमा समस्या आएको थियो। त्यसैकारण उनी दोस्रो इनिङमा मैदान छिरेनन्। पारसले मलेसियाविरुद्धको खेल पनि पवेलियनबाटै हेरे।

तथापि, उनी कुवेतविरुद्ध भने खेल्ने सम्भावना बलियो छ। पारसले शुक्रबार टोलीसँग अभ्यास गरेका छन्। उनको आवागमनले टोलीको मनोबल बढ्ने पक्का छ।

ज्ञानेन्द्रको जवाफ !

लगातार खराब प्रदर्शन गरेपछि उपकप्तान ज्ञानेन्द्र मल्ल आलोचित बनेका थिए। पछिल्लो पटक युएई भ्रमणमा निस्कँदा उपकप्तान ज्ञानेन्द्रले पहिलो र दोस्रो खेलमा समान ७ रन बनाएका थिए भने तेस्रो खेलमा पनि ११ माथिको स्कोर बनाउन सकेनन्। सिंगापुर जानुअघि मलेसियाविरुद्धको दुवै खेलमा ज्ञानेन्द्र ७ रनमा पवेलियन फर्किएका थिए।

लगातार कमजोर प्रदर्शनपछि ज्ञानेन्द्रको आलोचना भएको थियो। निरन्तर लयमा नहुँदा पनि उनलाई मात्र कति अवसर दिने भनेर प्रश्न उठ्न थालेका थिए।

तर, सिंगापुरमा ज्ञानेन्द्रले पहिलो खेलमा २४ बलमा २३ रन जोडे भने दोस्रो खेलमा म्यान अफ दी म्यान प्रदर्शन गरे। मलेसियाविरुद्ध त ज्ञानेन्द्रले दुई कीर्तिमान आफ्नो नाममा लेखाए। २० बलमा अर्धशतक बनाएका ज्ञानेन्द्रले पहिलो विकेटका लागि प्रदीप ऐरीसँग ६६ रनको साझेदारी गरे। ज्ञानेन्द्रले पहिलो विकेटका लागि ठूलो साझेदारी र छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए।

कप्तान पारस खड्काको अनुपस्थितिमा ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्का हान्दै ५१ रन बनाएर नेपाललाई ७ विकेटको जित दिलाए। यससँगै ज्ञानेन्द्रले तत्कालका लागि आलोचकको मुख थुन्ने काम गरेका छन्।

कुवेत पनि उच्च मनोबलमा

कुवेतले शुक्रबार कतारमाथि १० रनको रोमाञ्‍चक जित निकोलेको छ। सिंगापुरसँगको खेल वर्षाले प्रभावित बनेपछि प्रतियोगितामा कतारविरुद्ध कुवेतको पहिलो खेल थियो। कुवेतले कतारविरुद्ध १ सय ९७ रन बनाएको थियो। जुन जारी प्रतियोगितमा बनेको सबैभन्दा ठूलो योगफल हो।

कतारका अद्नान इद्रिसले ५६ रन बनाएका थिए भने कप्तान मोहम्मद कशिफले ४३ रन बनाए। कतारविरुद्ध दुई ब्याट्सम्यानबाहेक अन्य ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गरेका छन्। तथापि, बलिङ भने ब्याटिङजत्तिकै सबल देखिएन। कतारले ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर