के हजुरको मोबाइमा मिस्डकल आयो ?अब कलब्याक नगर्नुस्, ब्यालेन्स चोरिएला है !

अनलाइन पत्र संवाददाता२०७६-०४-१० No Comments

केही दिनयता पोल्यान्ड देखाउने नम्बरबाट मोबाइलमा मिस्डकल आइरहेको छ। यस्तो कल एक-दुईजना मात्र होइन, धेरैको मोबाइलमा आएको छ।

यस्तो कल तपाइको आफन्तले नभएर ठग्ने नियत भएका व्यक्तिबाट आएको हुनसक्छ। त्यसैले कलब्याक नगर्नुस्, यो तपाईंको ब्यालेन्स चोर्ने नियत हुनसक्छ।

केही समयअघि पनि मिस्डकल धेरै आएपछि नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्ता र दूरसञ्चार सेवा प्रदायकलाई सचेत गराएको थियो। प्राधिकरणले बुधबार पनि अपरिचित नम्बरबाट आएको कुनै पनि मिस्डकललाई कलब्याक नगर्न आग्रह गरेको छ।

यसअघि ट्युनिसिया, दक्षिण सुडान लगायतका देशबाट यस्तो कल आइरहेको भए पनि केही दिनदेखि भने पोल्याण्डको नम्बर देखाउने प्लस ४८ बाट धेरै यस्ता कल आइरहेका छन्। अन्तिमका दुईवटा मात्र नम्बर परिवर्तन गरेर फरक–फरक नम्बरबाट मिस्डकल आइरहेका छन्।

अपरिचित नम्बरबाट आइरहेको यस्ता मिस्डकलको उद्देश्य कलब्याक गर्नेको ब्यालेन्सबाट पैसा कमाउने हो। ती नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ। त्यही काटिएको रकमबाट ठग्ने नियत राख्ने व्यक्तिले फाइदा उठाइरहेका हुन्छन्।

यस्ता कल विशेषगरी विदेशको नम्बरबाटै आउने गर्छन्। नेपालबाट विदेशमा गर्दा एक–दुई सेकेन्डमा पनि धेरै व्यालेन्स काटिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

‘केही दिनयता अपरिचित नम्बरबाट मिस्डकल आएको गुनासो आइरहेको छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले नेपालन्युजसँग भने, ‘यसबारेमा उपभोक्ता र सेवा प्रदायकलाई सचेत रहन आग्रह गरेका छौं ।’

यस्ता कलको मुख्य उद्देश्य कलब्याक गर्नेको ब्यालेन्सबाट नाफा कमाउनु रहेको अर्यालले बताए।

‘वानगिरी स्काम’ (वान रिङ स्काम) भनिने यस्ता मिस्डकल विगतमा पनि देखिने गरेको र केही दिनयता पुनः दोहोरिएकाले कलब्याक नगर्न प्राधिकरणले सबैमा सूचना जारी गरेको छ। यसबारेमा सेवा प्रदायकलाई त्यस्ता नम्बर पहिचान गरेर ब्लक गर्न निर्देशन दिएको अर्यालले बताए।

कसरी गर्छन् ठगी?

विदेशमा कलब्याक गर्दा हाम्रो मोबाइलको ब्यालेन्स काटिन्छ, त्यो स्वभाविकै हो । तर, यसरी आएको कलमा भने अझ धेरै ब्यालेन्स काटिने ‘सेटिङ’ मिलाइएको हुन्छ।

विदेशमा कल गर्दा उक्त देशको ‘अपरेटरले’ले ‘कल टर्मिनेसन शुल्क’ प्राप्त गर्छन् । मिस्डकलको एकमात्र उद्देश्य त्यही शुल्क उठाउने हो। यसमा अपरेटरसँग मिलेमतो हुने आशंका छ। अपरेटरसँग मिलेर ठग्ने समूहले विभिन्न ठाउँ परिवर्तन गर्दै विश्वका कैयन देशका नम्बरमा मिस्डकल गर्ने गर्छन्।

यी नम्बरमा कलब्याक गर्दा उताबाट प्रतिउत्तर दिदैनन्। ‘हेलो हेलो’ मात्र गर्छन् तर बोल्दैनन्।

कलब्याक गर्नेलाई उनीहरुले यत्तिकैमा छोड्दैनन्। पुनः ‘अर्जेन्ट छ कल गर्नुस्’ भन्ने म्यासेज पठाउँछन्। तपाइको इमेल पाए भने इमेल पनि पठाउन सक्छन्।

अहिलेसम्म नेपालमा पोल्याण्ड बाहेक अमेरिका, मलेसिया, दक्षिण सुडान जर्मनी, साउदी अरेविया लगायतका देशबाट मिस्डकल आएको भेटिएको छ।

सामाजिक सञ्जालबाट पनि आउन सक्छ

ठग्ने उद्देश्यले गर्ने कल मोबाइलमा मात्र होइन विभिन्न सामाजिक सञ्जालबाट पनि आउने गरेका छन्।

जस्तो कि ओभर द टप (ओटिटी) भनिने भाइबर, फेसबुक म्यासेन्जर, इमो, स्काइप, ह्वाट्सएप, इमेल लगायतका इन्टरनेटका माध्यमबाट पनि कल आउने गरेको पाइएको छ। यसरी आउने कलले ब्यालेन्स काट्ने भन्दा पनि चिट्ठा परेको जानकारी गराउँदै केही रकम पठाउन भन्न सक्छन्।

ओटिटी सेवाको प्रयोग गरेर अपरिचित नम्बर विदेशबाट मात्र नभएर स्वदेशबाट पनि कल आउन सक्छ। ठग्ने उद्देश्यले अपरिचित नम्बरबाट फोन गरेर धम्की दिने, फिरौती माग्ने, चिठ्ठा परेको झुटा जानकारी दिने समेत गरेको पाइएको छ।

केही समयअघि यस्तै समस्या धेरै भए पनि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकसँग ‘अन्नोन’ नम्बरलाई ब्लक गर्न निर्देशनसमेत दिएको थियो । ठग्ने उद्देश्यले गरिएका त्यस्ता नम्बर बारम्बार परिवर्तन पनि हुन्छन्। हरेक पटक नयाँ नम्बरबाट मिस्डकल आउन सक्ने अर्यालले बताए।

केही समयअघि यिनै सेवा प्रयोग गरेर ‘अन्नोन’, ‘नो कलर आइडी’, ०१२३४५६, १२३४५६, ८८८८८८८८८८ जस्ता अपरिचित नम्बर देखिने गरी धेरै कल आएका थिए। सेवाग्राहीले धेरे गुनासो गरेपछि नेपाल टेलिकमलगायतका सेवा प्रदायकले त्यस्ता नम्बरबाट आएको कल नउठाउन आग्रहसमेत गरेको थिए।

अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनले परिचित नम्बर भएको कल मात्र स्वीकार गर्ने व्यवस्था विश्वभरका दूरसञ्चार सेवा प्रदायक कम्पनीले गर्नुपर्ने निर्देशन जारी गरेको छ। युनियनको प्रावधानअनुसार मोबाइलमा आउने सबै नम्बर कल लाइन आइडेन्टिफिकेसन (सिएलआई) हुनुपर्छ।

अमेरिकामा पनि यस्तै समस्या

मिस्डकलबाट हुने ठगी नेपालजस्ता गरिब मुलुकमा मात्र नभएर विश्वका धनी देशमा पनि हुनेगर्छ। मिस्डकलको यस्तै समस्या भएपछि अमेरिकामा पनि सचेत रहन आग्रह गरिएको थियो।

सीएनएनले मे महिनामा प्रकाशित गरेको एक समाचारअनुसार अमेरिकामा फेडेरल कम्युनिकेसन कमिसनले अपरिचित नम्बरबाट आएको मिस्डकललाई कलब्याक नगर्न सूचना जारी गरेको थियो।

Chat Icon
Ad
Ad