घका प्रवक्ता मनोजकुमार शाहले बताए। ‘सुनको मूल्य बढेको बेलामा बिक्री गर्दा फाइदा हुने भएकाले बिक्री गर्न आउने बढेको हुन्,’ उनले भने, ‘कतिपय भने पैसा अभावले पुरानो सुन बिक्री गर्न आउँछन्।’

केही दिनअघि सुन अहिलेसम्मकै उच्च मूल्यमा पुगेको थियो। प्रतितोला सुन ६५ हजार ५ सयसम्म पुगेको थियो। तर, अहिले त्यो मूल्यमा प्रतितोला ५ सयले कमी आएको छ। तर, पनि सुन बिक्री गर्ने बढेका छन्।

तीज आउन अझै एक महिना बढी समय भएकाले पनि सुन खरिदको चाप परिसकेको छैन्। तीज नजिकै आउँदा सुन किन्‍ने बढ्ने अनुमान गरिएको भए पनि अहिले नै भने बिक्री गर्ने बढेको सुन व्यापारीको भनाइ छ। 

सुन बिक्री गर्न आउनेलाई सुन व्यापारीले २ बजेपछि आउनु भन्दै फर्काउँदै गरेका छन्। सामान्यतया १० बजे सुन पसल खुल्ने गर्छन्। त्यसपछि बैंकबाट पैसा ल्याउँदा १२–१ बज्ने भएकाले पनि २ बजेपछि आउनुुस् भन्ने गरिएको शाहले बताए ।

नागरिकले ढिक्का सुनभन्दा पनि बनाएका सुन किन्ने भएकाले त्यही सुन बिक्री गर्न आउने गरेको व्यापारीको भनाइ छ।

सुन महँगो भएका बेला पुराना हार, नेकलेस, चुरालगायत सुनका गरगहना बिक्री गर्ने धेरै हुन्छन्। भाउ बढेदेखि नै सुन बिक्री गर्नेको चाप पर्ने व्यवसायी बताउँछन्। त्यसैगरी, मूल्य घट्दा सुन किन्ने बढ्छन्।

अहिलेकै मूल्य केही दिन कायम रहे वा बढ्दै जाने हो भने बजारले धान्नै नसक्ने गरी बिक्रेता बढ्न सक्ने व्यवसायी बताउँछन्। किन्ने र बेच्नेको सन्तुलन हुनुपर्ने उनीहरूको भनाइ छ। दुई पक्षबीच सन्तुलन भएन भने बजारमा असन्तुलन हुने व्यवसायीको भनाइ छ।

लगानीका लागि निश्चित बजेट हुने भएकाले ग्राहकले ल्याएजति सुन किन्न सक्ने अवस्था नरहेको व्यवसायी बताउँछन्। खरिदमात्र गर्ने तर बेच्न पाइएन भने व्यवसायीलाई समस्या पर्छ। माग र बिक्री दुवै बराबर भएको अवस्थामा खासै फरक पर्दैन।

व्यवसायीलाई ग्राहकले ल्याएको सुन किन्नैपर्छ भन्ने बाध्यता हुँदैन। व्यवसायीले ग्राहकसँगको सम्बन्ध र आवश्यकताअनुसार सुन किन्ने गर्छन्।

अझै दुई–चार दिन यही अवस्था रहे असहज परिस्थिति आउनसक्ने व्यवसायीको अनुमान छ। यस्तो अवस्थामा बैंकको भूमिका पनि ठूलो हुने व्यवसायीको तर्क छ। केही समयअघि व्यवसायीले नेपाल राष्ट्र बैंकलाई बेच्नेमात्र होइन, सुन किन्ने नीति बनाउन सुझाव दिएका थिए।

पुरानो सुन बिक्री बढेपछि बैंकले ल्याउने सुनको ढिक्का बिक्री हुन छाडेको छ। नेपाल बैंकर्स संघका अनुसार असारको अन्त्यसम्म ७ सय ५० किलो सुन बिक्री नभएर थन्किएको छ।

सेन्चुरी कमर्सियल बैंकका ट्रेजरी विभाग प्रमुख झवीन्द्र खत्रीले तीजको सिजन आउन अझै केही समय लाग्‍ने भएकाले पनि सुनको मागमा कमी आएको जानकारी दिए। त्यस्तै भारतमा बिक्री हुने सुनमा कमी आएका कारणले पनि स्टक रहेको उनको भनाइ छ।

सुनको मूल्य बढ्दा बिक्रीमा कमी आउने र मूल्य घटदा बिक्री बढी हुने गरेको अनुभव खत्रीले सुनाए।

विश्व बजारमा शक्तिशाली राष्ट्रबीचको व्यापारिक तनावले स्थानीय बजारमा सुनको भाउ हालसम्मकै उच्चविन्दुमा पुगेको हो। विश्व बजारमा नै सुनको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ४ सय डलर पुगेको छ।

सुनमा गरिएको लगानीलाई सबैभन्दा सुरक्षित मानिने गर्छ। त्यसैले पनि सेयर र डलर खरिद गर्न छाडेर सुन खरिद गर्न थालिएकाले भाउ बढेको हो।

सुन विदेशबाट ल्याउँदा करिब १३ अर्ब राजस्व सरकारलाई प्राप्त हुने गरेको महासंघको भनाइ छ। २२ हजारभन्दा बढी व्यवसायी सुनचाँदी कारोबारमा छन्। यसमा करिब दुई लाख कामदार तथा कालिगढले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा काममा संलग्न भएको महासंघको भनाइ छ।

सबैभन्दा बढी सुन दुबईबाट आउने गरेको छ। अहिले २२ वटा वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। त्यसमध्ये सेञ्चुरी बैंकले धेरै ल्याउँछ। व्यवसायीले बैंकबाटै सुनचाँदी किन्‍नुपर्छ। नेपालमा सुनचाँदी आयात गर्न वाणिज्य बैंकले मात्र पाउँछन्।