नेपाली हिन्दुधर्मालम्बीहरु महान पर्व दसैँ–तिहार सुरु भएसँगै नयाँ नोट साट्ने साट्ने हतारो हुन्छ । हरेक वर्ष बैंकहरुमा नयाँ नोट साट्न आउने ग्राहकहरुको भिडभाड हुने गर्थ्यो। तर यस वर्ष भने नयाँ नोट साट्नका लागि बैंकमा ग्राहकहरुको भिड नदेखिने सम्भावना बढी रहेको छ। नेपालमा तीब्र रुपमा कोरोना महामारी दिन प्रतिदिन बढ्दो छ। सराकरले पनि धेरै भिडभाड नगर्ने निर्णय गरेको छ। यस्तो अवस्थामा नयाँ नोट साट्ने काम नहुने देखिएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले सरकारले कोरोनाको संक्रमण बढिरहेको र भिडभाडले जोखिम बढ्ने भएकाले यस वर्ष नयाँ नोट साट्ने कार्य नहुने सम्भावना रहेको जानकारी दिए। उनले भने, ‘नयाँ नोट साटहीका बेला बैंकहरुमा भिडभाड धेरै हुन्छ। अहिलेको अवस्थामा सरकारले भिडभाड नगर्न भनेको छ। कोरोना महामारीबाट जोखिन हामी आफै पनि सचेत हुनु पर्ने बेला हो। यस्तो बेला नयाँ नोट सटही हुने कम सम्भावना छ।’ उनले यस सम्बन्धी आधिकारिक निर्णय आउन भने बाँकी रहेको बताए। राष्ट्र बैंकले अघिल्ला वर्षहरुमा दशैँलाई लक्षित गरी ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोट वितरण गर्दै आएको थियो।