बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई नेपाली कांग्रेस मकवानपुरले जनही २५÷२५ हजार रुपैँया राहत स्वरुप दिने भएको छ । बिहिबार बसेको नियमित जिल्ला बैठकमा कांग्रेसले बाढिपहिरोमा परी मृत्यु भएका मकवानपुरका ६ जनाको परिवारलाई नगद २५ हजार रुपैँयाको दरले राहत दिने निर्णय गरेको छ । जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले पीडित परिवारमा समवेदना व्यक्त गरेको छ ।

बैठकले जननायक वीपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्ने समेत निर्णय गरेको छ । स्मृति दिवसमा नेविसंघ मकवानपुरले साउन ४ गते पार्टी कार्यालयमा विहान ११ वजे विचार गोष्ठी गर्ने भएको छ भने कांग्रेस ३ नम्बर क्षेत्रीय समितिले साउन ५ गते विहान ८ बजे हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने भएको छ । त्यस्तै साउन ६ गते वीपी विचार समाजको आयोजनामा हेटौंडा–११ मा रहेको वीपी बाटिकामा वृक्षारोपण र कांग्रेस मकवानपुर र वीपी फाउण्डेशन काठमाडौंको आयोजनामा विचार गोष्ठी र साउन ७ गते नेपाल तरुण दलले बुद्धचोकमा रक्तदान कार्यक्रम गर्ने कांग्रेस मकवानपुरको बैठकले निर्णय गरेको छ ।