३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडाको निर्णय गर्न प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले कडा रुपमा नेकपा प्रदेश ३ कमिटी र प्रदेश सांसदहरुलाई निर्देशन दिनुभएको छ । प्रदेशको राजधानी हेटौंडामा राख्नुले ठुलो महत्व रहेको भनेर दुवै अध्यक्ष र पार्टीका शिर्षस्थ नेताहरुले वताउनुभयो । प्रदेश ३ को राजधानीमा हेटौंडाको विकल्प नभएको समेत नेताहरुले बताएका छन् ।
हेटौंडा राजधानी तोक्ने विषय थप जटिल बनेपछि नेकपाका प्रदेश सांसदहरुको ३ समूह सोमबारै पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं गएको थियो । तर, पहिले गरको निर्णय सचिवालय टसको मस नभएर थप निर्देशन दिएपछी प्रदेशका नेता, सांसद र मन्त्रीहरु मंगलबार फर्किएका छन् । दुईघण्टा सम्म प्रधानमन्त्री निवास वालुवाटारमा वसेको वैठकपछी स्थायी राजधानी हेटौंडा कायम गर्न सवै सहमत भएको एक नेताले वताउनुभयो । ‘पार्टीले निर्णय गरेर राजधानी र नाम टुंगो लगाइसक्यो अब हेरफेर हुँदैन । हरेक दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्त छ । हेटौंडालाई राजधानी मानेर जानुस ।–’ पार्टी नेतृत्व भेट्न पुगेका नेताहरुलाई प्रधानमन्त्री ओलीले भन्नुभयो । हेटौंडा राजधानी राख्नुपर्छ भन्ने पक्ष र विपक्षका सांसदहरु नेकपाका शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौं गएका थिए । मंगलबार मुख्यमन्त्री निवासमा हुने भनिएको संसदीय दलको बैठक छोडेर केही नेताहरु सोमबारै संघीय राजधानी गएका कारण पनि हुन सकेको थिएन । संसदीय दलको वैठक अव वसेर राजधानीबारेमा मतदान गरिने छ ।