Breaking
7 Dec 2024, Sat

ए डिभिजन लिग फुटबलः आज मनाङ र मछिन्द्रको भिडन्त

सहिद स्मारक ए डिभिजन लिग अन्तरगत पाँचौ चरणका खेल शुरु हुँदैछन् । पाँचौं चरणसम्म आइपुग्दा आज साविक विजेता मनाङ मर्स्याङ्दी र मछिन्द्रबीच भिडन्त हुँदैछ । यो भिडन्त ए डिभिजन लिगकै सबैभन्दा प्रतिक्षित खेलका रुपमा हेरिएको छ । किनकी साविक विजेता मनाङमा रहेका अधिकांश खेलाडी यो लिगमा मछिन्द्रबाट खेल्दैछन् । त्यसैले दर्शकका लागि मात्र रोचक भन्दा पनि स्वयं खेलाडी र दुबै क्लबका लागि आफूलाई बलियो प्रमाणित गर्नुपर्ने ठूलो चुनौती छ ।

खेल आज दिउसो ३ बजे दशरथ रंगशालामा हुनेछ । कप्तान विराज महर्जनसहित १२ जना खेलाडीले एकै पटक मछिन्द्रमा जाँदा मनाङ कमजोर भएको आँकलन गरिएको थियो । तर, मनाङ अपराजित रहँदै शीर्ष स्थानमा छ । कमल श्रेष्ठले नेतृत्व गरिरहेको मनाङलाई आफ्ना पूर्व सहकर्मीहरुसँग जीत हात पार्नुपर्ने मुख्य चुनौती छ । यता नयाँ जोस सहित आएको मछिन्द्रका खेलाडीले पनि जसरी पनि जित्नैपर्ने ‘ईख’ छ । शीर्ष स्थानको मनाङलाई पराजित गर्दै आफ्नो उपाधि यात्रालाई अगाडि बढाउने लक्ष्यमा मछिन्द्र छ । यी दुई टोलीले जुनसुकै हालतमा पनि जित हात पार्ने योजनामा छन् । यस खेललाई दुबै क्लबका लागि ‘प्रतिष्ठाको लडाईका रुपमा समेत हेरिएको छ ।

समान ४ खेल खेलेका यी दुवै टोलीले ३ खेलमा जीत र एक खेलमा बराबरी खेलेका छन् । तर, मछिन्द्र अघिल्लो बर्ष लिगको अन्तिम दोस्रो स्थानमा रहेका कारण १ अंक घटेपछि अहिले जम्मा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ । शनिबार देखि शुरु हुनुपर्ने पाँचौ चरणका खेल वर्षाका कारण सोमबारका लागि सारिएका हुन् ।

Ad
Ad