2025-12-07 9:46 am

हुप्रचौरमा निःशुल्क भलिबल प्रशिक्षण

हुप्रचौरमा खेलाडीलाई प्रशिक्षण गराउँदै प्रशिक्षक श्रेष्ठ ।
हुप्रचौरमा खेलाडीलाई प्रशिक्षण गराउँदै प्रशिक्षक श्रेष्ठ

हेटौंडा–४ हुप्रचौरमा निशुल्क भलिवल प्रशिक्षण सुरु भएको छ । मकवानपुरका पुराना भलिवल खेलाडीहरुको सक्रियतामा आईतबारबाट प्रशिक्षण सुरु भएको हो । दिउँसो साढे ३ बजेबाट सुरु हुने प्रशिक्षणमा भलिवलका लेभल २ का प्रशिक्षक एवम् पूर्व खेलाडी सन्तोष श्रेष्ठले प्रशिक्षण सुरु गरेका हुन् ।

मकवानपुरमा पछिल्लो समय भलिबल खेलप्रति सर्वसाधारणको रुची कम हुँदै गएकोले प्रशिक्षण सुरु गरिएको श्रेष्ठले जानकारी दिए । ‘विशुद्ध भलिबल खेल र खेलाडीको विकासका लागि यो अभियान सुरु गरेका हौं’, प्रशिक्षक श्रेष्ठले भने, ‘आफू पनि भलिबल खेलाडी र प्रशिक्षक भएको नाताले आफ्नै जिल्लामा यो अभियान चलाउने रहर चलेको हो । प्रत्येक दिन नियमित प्रशिक्षण गराउने योजना रहेको छ ।’ प्रशिक्षणमा पहिलो दिन करिब २० जना सहभागी थिए भने दोस्रो दिन ३० खेलाडी सहभागी भएको प्रशिक्षण अभियानका सहयोगी एवम् भलिबल खेलाडी शंकर कार्कीले जानकारी दिए ।

‘महिला पुरुष जो कोही पनि निःशुल्क रुपमा यो प्रशिक्षणमा सहभागी हुन सक्नेछन्’, कार्कीले भने, ‘यदी तपाइँ भलिबलको नियमित प्रशिक्षणमा सहभागी हुन चाहनुहुन्छ र यस खेलको नियम सिक्न चाहनुहुन्छ भने सहभागी हुन सक्नुहुनेछ ।’ यो अभियानलाई मन पराएर केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, हटिया स्पोर्टस् एकेडेमी, बसन्तकुमार सिटौला, दिपेश कालाखेती र हरि थपलियाले भलिवल सहयोग गरेका छन् । जिल्लामा लामो समयदेखि मकवानपुर जिल्ला भलिबल संघ अस्थित्वमा रहेपनि संघको अगुवाईमा कुनै प्रतियोगिता तथा प्रशिक्षण नभएको गुनासो बढिरहेको सन्दर्भमा भलिबल खेलाडीहरुको सक्रियतामा प्रशिक्षण सुरु भएको हो । प्रशिक्षणको भलिबल खेललाई माया गर्नेहरुले प्रशंसा गर्दै सहयोगको प्रतिबद्धता समेत जनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad