नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको टोली टिम अबुधाबीले आज टि–१० प्रतियोगितामा क्वालन्डर्सविरुद्ध खेल्नेछ ।
पारसको टोलीले प्रतियोगिताको तेस्रो खेलमा क्वालन्डर्सविरुद्ध खेल्न लागेको हो। लामो समय नेपाली क्रिकेट टोलीको नेतृत्व सम्हालेका पारसले पहिलो विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन्। पारसले यो छोटो स्वरुपको क्रिकेटमा जुनसुकै टोलीले जुनसुकै टोलीलाई हराउने क्षमता राख्ने बताए।
‘यो प्रतियोगिता खेल्ने सबै खेलाडी राम्रा छन्। छोटो स्वरुपको क्रिकेटमा कति बेला के हुन्छ भनेर भन्न सकिँदैन। नतिजा जतिबेला जसको पक्षमा पनि जान सक्छ,’ पारसले थपे, ‘टिमले जित्नका लागि टोलीमा भएका सबै खेलाडीले राम्रो गर्नुपर्छ।’
टिम अबुधाबी समूह ‘बी’ मा रहेको छ। समूह ‘बी’ मा अबुधाबीबाहेक नर्दन वारियर्स, क्वालन्डर्स र मारथा अरवियन्स छन्। समूह ‘ए’ मा बंगला टाइगर्स, डेकन ग्लाडियटर्स, दिल्ली बुल्स र कर्नाटका टुसकर्स छन्।
प्रतियोगिता अबुधाबीस्थित शेख जायद रंगशालामा हुनेछ। पारसको टोली आबुधाबीको खेल नेपाली समयअनुसार राति १०ः४५ हुनेछ । पारसले अबुधाबीको मैदान र वातावरणसँग परिचित रहे पनि टि–१० लिगको रोमाञ्चकता फरक हुने बताए।
‘हामीले अबुधाबीको यो मैदान र यहाँको वातावरणमा नियमित खेल्दै आएका छौं। तर टी–१० फरक प्रतियोगिता हो। यसको रोमाञ्चकता फरक छ,’ प्रतियोगिताको उपाधिबारे पारसले थपे, ‘टिम अबुधाबी धेरै राम्रो टिम बनेको छ। तर अहिले नै कुनै टोलीलाई उपाधि दाबेदार भनेर भन्न सकिँदैन। सबै खेलाडी उत्तिकै राम्रा छन्। सबैले सबैलाई हराउँन सक्छन्। खेलको दिन कसले कस्तो खेल्छ भन्ने हो।’
नेपालकै सन्दीप लामिछानेको कर्नाटका टुसकर्सले शनिबार दिल्ली बुल्सविरुद्ध खेल्नेछ।
टिम अबुधाबीः टोलीमा मोइन अली (कप्तान), रामीज शहजाद, निरोशन दिकवेला, एलेक्स ड्भिस, लुके राइट, रिचार्ड ग्लेसन, लेविस ग्रेगोरी, कोरी एन्डरसन, रोहन मुस्तफा, बेन लउघलिन, मोहम्मद आमिर, ह्यारी गुर्नी, पारस खड्का, हेडेन वाल्स ।
टिम क्वालन्डर्सः साहिद अफ्रीदी (कप्तान), ल्युक रोन्ची, लउरी इभान्स, फिलिप साल्ट, इमरान नाजिर, टम बानटोन, समित पटेल, सोहिल अख्तर, जोर्डन क्लार्क, ह्यारिस रफ, असन मिर्जा, माज खान, दिलबर हुसैन।
यो समाचार नेपाल निउज डट कम् बाट साभार गरिएको हो ।