चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ । आजै  सभामुख अग्नि सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् ।

मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नेछन् । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । त्यस्तै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङपछि तेस्रो नम्बरमा छन् ।