नेपाली काङ्ग्रेसले जिल्ला समिति पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको आइतबार काठमाडौँको माछापोखरीस्थित हिमालय सिटी सेन्टरमा रहस्यमय ढङ्गले मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। श्रेष्ठको मृत्यु हुनासाथ अनुसन्धान नै नगरि शव परीक्षणसमेत नभएको अवस्थामा प्रहरीको हवला दिँदै आत्महत्या हो भनेर सञ्चार माध्यमहरुमा सम्प्रेषित समाचारप्रति काङ्ग्रेसले आपत्ति प्रकट गरेको छ । काङ्ग्रेसले सोमबार एक विज्ञप्तिमार्फत घटनास्थलको प्रकृति हेर्दा आठ तलाबाट खसेको भनिएको घटनाको प्रत्यक्षदर्शी कोही पनि नहुनु र घटनास्थलमा रगतसमेत नदेखिनु, शरीरको कुनै पनि भागमा चोटपटक र अङ्गभङ्ग नहुनु जस्ता कुराले घटनालाई रहस्यमय र शंकास्पद बनाएको उल्लेख गरेको छ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका युक्तप्रसादको सपिङ सेन्टरबाट खसेर मृत्यु ‘युक्तप्रसादले आठ तले सपिङ सेन्टरबाट हामफालेर आत्महत्या गरे’ पार्टीले घटनाको संवेदनशीलताका साथ यथार्थ छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। श्रेष्ठको सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रियता रहेको काङ्ग्रेसले जनाएको छ। ५७ वर्षीय श्रेष्ठका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । सचिव श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। पार्टीका तर्फबाट काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।

श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा काङ्ग्रेसका केन्द्रीय पदाधिकारी एवम सदस्यहरु, जिल्लाका नेताहरु, पार्टीका सदस्यहरु तथा श्रेष्ठका आफन्तजन उपस्थित थिए । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा उनले पुर्याएको सक्रिय योगदान पार्टीमा सदैव स्मरणीय रहिरहने उल्लेख छ । ‘उहाँको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको छ । श्रेष्ठको निधनप्रति काङ्ग्रेस गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्दछ’, कांग्रेसले भनेको छ, ‘साथै उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा काङ्ग्रेस गहिरो समवेदना प्रकट गर्दछ।’