हेटौंडा । पहिलो पाइला शिशु स्याहार केन्द्र, हेटौंडाको तेस्रो अभिभावक भेला सोमबार सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष अंकिता सुमार्गीको सभाध्यक्षता एवम् बागमती प्रदेश विश्व विद्यालयका उपाध्यक्ष कुसुम राज सुवेदीको प्रमुख आतिथ्यमा भव्य समारोहको आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले काठमाडौँ बाहिरको उत्कृष्ट मण्टेश्वरीको रुपमा आफूले पहिलो पाइलालाई अनुभव गरेको बताए। चितवनका ८ देखि १० वटा मण्टेश्वरीमा प्रमुख अतिथिको रुपमा सहभागी भए पनि यति खँदिलो र उत्कृष्ट मण्टेश्वरी आफूले नदेखेको बताउँदै सुवेदीले पहिलो पाइलाको गतिविधिको प्रशंसा गरे।

त्यस अवसरमा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य तथा हेटौंडा एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीले स्वागत मन्तव्य राखेका थिए। उनले कोभिड–१९ संक्रमणको चुनौतीपूर्ण समयमा स्थापना गरिएको यस संस्थाले अहिलेसम्म उल्लेखनीय प्रगति हासिल गरेको भन्दै आगामी दिनहरूको सफलताका लागि शुभकामना दिए। उनले दुई जना बालकबाट सुरु भएको यो केन्द्र अहिले उत्कृष्ट शिशु स्याहार संस्थाको रुपमा स्थापित भएको भन्दै शिक्षक, बालबालिका र सहयोगीहरूप्रति आभार व्यक्त गरे।

प्याब्सन अध्यक्ष विनोद सुवेदीले पहिलो पाइलाले मकवानपुरलाई शिक्षाको हब बनाउने लक्ष्य अनुरूप काम गरिरहेको भन्दै प्रशंसा व्यक्त गरे। कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष शुशील घिमिरे, आरम्भ शिशु स्याहारकी अध्यक्ष शुशीला भण्डारी लगायत विभिन्न विद्यालयका अध्यक्ष र प्रधानाध्यापकहरूको उपस्थिति थियो।

सोही अवसरमा पहिलो पाइला शिशु स्याहार केन्द्रमा अध्ययनरत बालबालिकाहरूले नृत्य प्रस्तुत गर्दै सबैलाई मनोरञ्जन प्रदान गरे। कार्यक्रममा सहभागी अभिभावकहरूले पनि संस्थाको गतिविधिप्रति सन्तुष्टि व्यक्त गरेका थिए।