भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।
तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो। रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ। २ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ। त्यतिञ्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ।