मकवानपुरको बकैया गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । बकैया–५ पावस निवासी ५० वर्षका सन्तलाल माझीको हात्तिको आक्रमणबाट मृत्यु भएको हो । बिहिबार माझीलाई घरमै हात्तीले आक्रमण गरी बेहोस बनाएको र उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तीन दिनदेखि मकवानपुरको मनहरी , हेटौंडा र बकैयाका विभिन्न ठाउँमा हात्तिले आतंक मच्चाइरहेको छ । तीनदिन अघि मात्रै मनहरी गाउँपालिकामा हात्तिको आक्रमणमा परी एक महिलाको मृत्यु भएको थियो । मकवानपुरमा जंगली हात्तीको आक्रमणमा परी एक महिला र एक पुरुषको मृत्यु भएको छ भने बिहिबारै हेटौंडा–१८ का एक पुरुष घाईते भएको छ । यस्तो घटना घट्दा समेत संम्बन्धित निकायले हात्ती नियन्त्रण गर्ने चासो देखाएको छैन ।